‘अर्णव’ चक्रवातको प्रभावसँगै पछिल्ला तीन दिनदेखि परेको वर्षा र हावाहुरीले सप्तरीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्याएको छ। पाकेर काट्ने र घर भित्र्याउने तयारीमा रहेका धान खेतमै ढलेपछि किसान चिन्तित बनेका छन्।
जिल्लाको डाक्नेश्वरी नगरपालिका, महदेवा, तिरहुत, रुपनी गाउँपालिका तथा खडक नगरपालिकालगायतका क्षेत्रमा वर्षा र हावाहुरीले धानबालीमा असर गरेको हो। कतिपय स्थानमा धानका बाला खेतमै ढलेका छन् भने खेतमा पानी जम्दा काट्न तयार भएको धान भित्र्याउनसमेत समस्या भएको छ।
डाक्नेश्वरी नगरपालिकाका किसान कमलेशकुमार यादव, जगदीश मुखिया, रेणुदेवी, राजदेव यादव, अरुणकुमार यादव र भोलाप्रसादलगायतको धानबालीमा क्षति पुगेको छ। पाकेर काट्ने अवस्थामा पुगेको धान हावाहुरीले ढलाएपछि कटानी तथा स्याहारमा कठिनाइ भएको किसानहरूले बताएका छन्।
त्यस्तै, महदेवा गाउँपालिकाका राजनारायण साह र विजय यादवसहितका किसानको खेतमा पनि धान ढलेको छ। धानका बाला खेतभरि फैलिएका कारण काट्न र समेट्न समस्या भएको उनीहरूको भनाइ छ।
रुपनी गाउँपालिकाका तारणीप्रसाद साह, अरुण यादव लगायतका किसानको धानबालीमा पनि वर्षा र हावाहुरीले क्षति पुर्याएको छ। खेतमा ढलेको धानसँगै काटेर राखिएका धानका पाजा र परालसमेत पानीले भिजेका छन्। लामो समयसम्म भिजेर रहेका धानका बालामा अङ्कुरण हुन थालेपछि उत्पादन खेर जाने जोखिम बढेको किसानहरूले बताएका छन्।
वर्षभरि मेहनत र लगानी गरेर उत्पादन गरेको धान भित्र्याउने बेलामा प्रतिकूल मौसमले क्षति पुर्याएपछि किसानको आम्दानी प्रभावित हुने चिन्ता बढेको छ। विशेषगरी लामो पराल भएका धानका जात हावाहुरीका कारण बढी ढलेका छन्। खेतमा पानी जमेकाले कृषि मेसिन तथा अन्य औजार प्रयोग गरेर धान काट्नसमेत कठिनाइ भइरहेको छ।
किसानहरूका अनुसार शनिबार अपराह्नदेखि मौसममा केही सुधार आएपछि ढलेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा घर भित्र्याउने प्रयास भइरहेको छ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार जिल्लामा ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये प्रत्येक वर्ष करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यस वर्ष जिल्लामा शतप्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको उनले जानकारी दिए।
प्रमुख मेहताले ‘अर्णव’ चक्रवातको प्रभावस्वरूप आएको वर्षा र हावाहुरीले जिल्लाका विभिन्न स्थानमा धानबालीमा सामान्यदेखि आंशिक क्षति पुर्याएको बताए। अहिले जिल्लाका विभिन्न स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।
लामो पराल भएका धानका बाला हावाहुरीले ढालेको र खेतमा पानी जमेकाले पाकेको धान काट्न समस्या भएको उनले बताए। यद्यपि, प्रारम्भिक जानकारीअनुसार धानको कुल उत्पादनमा ठूलो असर पर्ने अवस्था नदेखिएको प्रमुख मेहताले उल्लेख गरे।
कृषि ज्ञान केन्द्रले क्षतिको वास्तविक अवस्था विवरण सङ्कलन तथा मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने जनाएको छ।
















