सिमरा,जीतपुरसिमरा उद्योग वाणिज्य संघले निजगढ विमानस्थल यथाशिघ्र निर्माण गर्न सरकार समक्ष आग्रह गरेको छ ।
संघको नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष मोहनप्रसाद शर्माले शुक्रवार जारी गर्नुभएको विज्ञप्तिमा वन जङ्गल र वातावरणमा न्यून क्षति हुने गरी विमानस्थल निर्माण कार्य सुरु गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको हो । संघले प्रस्तावित आयोजना क्षेत्रमा पर्ने टाँगियाबस्तीको उचित व्यवस्थापनको लागि पनि माग गरेको छ ।
विज्ञप्तिमा उपमहानगरपालिकाभित्रका उद्योग, घरेलु तथा कुटीर उद्योग, व्यापार साथै सेवामुखी, आयमूलक विभिन्न व्यवसाय सञ्चालन गर्ने सबैको हकहित र संरक्षणमा प्रतिबद्धता पनि जनाइएको छ । छिमेकी उद्योग वाणिज्य संघहरुसँग भगिनी सम्बन्ध स्थापित गर्दै संघको उद्देश्य प्राप्त गर्ने सबै सरोकार संघ, संस्थाहरुको सदभाव र समन्वयमा कार्यसमिति अगाडि बढ्ने अध्यक्ष शर्माको भनाइ छ ।
स्थानीय सरकारले लगाउने विभिन्न करहरुको दायरा फराकिलो तर दर रेटमा छिमेकी जिल्ला र पालिकाहरुको भन्दा अझै कम निर्धारण हुने गरी नीति निर्माण गर्न पनि माग गरिएको छ । साथै सटर भाडा ४०० प्रतिशतले बढेको रकमलाई न्युन दररेट कायम गरिदिन पनि जीतपुरसिमरा उपमहानगरपालिकासँग संघले अनुरोध गरेको छ ।
यस्तै व्यापारी व्यवसायीहरुको अतिव्यस्त समय असार मसान्तको बेला विभिन्न सरकारी निकायबाट हुने अनुगमनबाट त्रसित नहुन सबै उद्योगी व्यवसायीहरुमा आग्रह गरिएको छ । व्यवसायीलाई आफ्नों खरिद बिक्री खाता सम्बन्धि कागज–पत्र अधावधिक राख्न तथा व्यावसायिक फर्महरुलाई सम्बन्धित निकायमा दर्ता नवीकरण गरी चुस्त दुरुस्त राख्नसमेत अध्यक्ष शर्माले आग्रह गर्नुभएको छ ।