मकवानपुर प्रहरीले दुध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो ।
चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसंगै मदिराको जर्किन बरामद गरेको छ । अटोमा ३ वटा रित्तो दुधको क्यान र ६ वटा घरेलु मदिराको जर्किन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
बरामद जर्किनमा करिब एक सय ४० लिटर मदिरा रहेको जनाईएको छ । लकडाउनको समयमा एम्बुलेन्समा यात्रु बोक्ने, दुध बोक्ने गाडि भन्दै अन्य सामान बोक्ने, अत्यावश्यक सेवा भन्दै दुरुपयोग गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।