वीरगञ्ज । पोलियो रोगको पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जदेखि भारतको सीमावर्ती सहर रक्सौलसम्म जनचेतनामूलक र्‍याली निकालिएको छ।

अक्टोबर २४ देखि सुरु भएको पोलियो अन्त्य सप्ताहको समापनका अवसरमा आइतबार रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले संयुक्त रूपमा र्‍याली आयोजना गरेका हुन्।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली मितेरी पुल हुँदै रक्सौलसम्म पुगेको थियो। रक्सौलमा भारत विकास परिषद्का सदस्यहरूले र्‍यालीमा सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रमले नेपाल र भारतका सामाजिक संस्थाबीचको सहकार्य र पोलियो उन्मूलनप्रतिको साझा प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

र्‍यालीमा रोटरी क्लब, रोट्र्याक्ट क्लब, इन्टर्याक्ट क्लब तथा इनर ह्वीलका सदस्यहरूको सहभागिता थियो। सहभागीहरू साइकल, मोटरसाइकल, स्कुटर र चारपाङ्ग्रे सवारीसाधनसहित र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले पोलियोविरुद्ध जनचेतना फैलाउँदै सर्वसाधारणलाई अभियानमा सक्रिय हुन आग्रह गरेका थिए।

आयोजकका अनुसार विश्वका विभिन्न क्षेत्रमा पोलियो नियन्त्रण हुँदै गए पनि यसको पूर्ण उन्मूलन नभएसम्म संक्रमणको जोखिम कायमै रहने भएकाले जनचेतना र खोप अभियानलाई निरन्तरता दिन आवश्यक छ। विशेषगरी बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न नियमित खोपको महत्त्वबारे समुदायलाई सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्र र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रोटरियन राजकिशोर प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।

आयोजकले पोलियो उन्मूलनको लक्ष्य हासिल गर्न सरकार, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था र आम नागरिकबीच सहकार्य तथा निरन्तर जनचेतनामूलक अभियान आवश्यक रहेकोमा जोड दिएका छन्।

Leave a Reply