कलैया,बाराबाट प्रहरीले ९ लाख मूल्य बढीको सामानसहित तीन वटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जस्थित सडकखण्डबाट सामानसहित तीन वटा पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त सामान सहितको पिकअप बरामद गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । जाँच अभियानको क्रममा पिकअपमा लोड रहेका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बा ०३–००१ च १५६५ नम्बरको पिकअपबाट चुकुन्दर र बा–०१–०२७ च ८५०३ नम्बरको पिकअपबाट कागती बरामद गरेको प्रहरीले जनाएको छ ।यसैगरी सर्लाहीबाट हेटौँडातर्फ जाँदै गरेको बा ०३–००१ च १०८६ नम्बरको पिकअपमा लोड रहेको टमाटरको बिल भरपाई नभएको भेटिएको नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेको भनाई छ ।बरामद सामानको मूल्यांकन ९ लाख ५० हजार ४९ रुपैँया कायम गरी सामानसहित सवारीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply