बारा जिल्लाको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न आम जनता पार्टी ९आजपा० ले माग गरेको छ।
आजपा मधेश प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका अध्यक्ष उमेश कुशवाहाले घटनालाई दुःखद र गम्भीर भन्दै दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
अस्पताल उद्घाटनजस्तो कार्यक्रममा प्रहरी र स्थानीयबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनुले गम्भीर प्रश्न खडा गरेको कुशवाहाको भनाइ छ। प्रहरीको गोली लागेर नागरिक घाइते हुने घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै उनले निष्पक्ष छानबिनमार्फत घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
उनले घाइते आदित्य पासवानको तत्काल उच्चस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा घटनाका क्रममा घाइते भएका अन्य व्यक्तिको समेत निःशुल्क उपचार गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै, घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनाव थप बढ्न नदिन जनप्रतिनिधिलाई जिम्मेवार भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्। प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम राख्नसमेत कुशवाहाले अपिल गरेका छन्।
स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका अगुवालाई आपसी सद्भाव कायम राख्दै शान्ति व्यवस्था पुनःस्थापित गर्न सहयोग गर्न उनले अनुरोध गरेका छन्।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय आदित्य पासवान घाइते भएका थिए। झडपका क्रममा तोडफोड हुनुका साथै मोटरसाइकलमा आगजनीसमेत भएको थियो।
आजपाले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र घाइतेसहित सबै पीडितलाई न्याय तथा उचित उपचारको व्यवस्था गर्न सरकारसँग पुनः माग गरेको छ।

















