कलैया,छठ घाटमा भएको झडपमा परेर ज्यान गुमाएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरवारीका राधेश्याम पटेलको परिवारलाई यथाशिघ्र क्षतिपुर्ति उपलब्ध गराउँन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाइएको छ ।

विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्रकुमार सिंह र हिन्दु स्वयंसेवक संघका सहराष्ट्रिय संघचालक एवम् अवकाश प्राप्त एआईजी कल्याण तिमल्सिनाको टोलीले शुत्रबार गृहमन्त्री खाणलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा स्थानीय प्रशासनमा भएको सहमती अनुसार पटेलको परिवारलाई यथाशिघ्र क्षतिपुर्ती उपलब्ध गराउन माग गरिएको छ । संघका महासचिव सिंहले सरकारी पक्षबाटै सहमति गराउने तथा कार्यान्वयन नहुने हो भने घटनाले उग्र रूप लिने र सोको जिम्मेवारी नेपाल सरकारले नै लिनु पर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘क्षतिपुर्तीमा पनि भेदभाव जस्तो घृणित कार्य हुँदैन, उहाँले भन्नुभयो, ‘सुनसरी जिल्लामा मुस्लिम युवाको मृत्यु भएको घटनामा सरकारले तत्काल पीडित पक्षलाई क्षतिपुर्ति दिएको तर हिन्दू युवाको हत्या भएको घटनामा हालसम्म पनि क्षतिपुर्ति नपाउँदा सरकार पक्षपाति देखियो ।’

कलैयास्थित एक छठ घाटमा छठ पर्वको प्रसादी सेलाउने क्रममा दुई समूहको झडपमा परेर घाइते भएका पटेलको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानियले आन्दोलन शुरु गरेपछि स्थानीय प्रशासनले पीडित परिवारलाई क्षतिपुर्ति बापत १० लाख र उपचारमा भएको खर्च वापत ११ लाख २४ हजार ५ सय र मृतक पटेललाई धार्मिक शहिद घोषणा गर्ने सहमति गरेको थियो ।

सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएपछि गृहमन्त्री खाणलाई भेटेर नै सहमति कार्यन्वयन गराउँन ध्यानकर्षण गराएको महासचिव सिंहले बताउनुभयो । ‘सहमति कार्यन्वयन गर्ने बारेमा प्रमुख जिल्ला अधिकारीले पत्र गृह मन्त्रालय पठाईसकेको भन्ने बुझिन आएतापनि हालसम्म पीडितका परिवारले राहत नपाएको हुँदा मन्त्रीको ध्यानाकर्षण गराएका हौँ ।’ उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गरी निजको परिवारले पाउनु पर्ने क्षतिपुर्ति भराइपाउन नेपाल सरकारसँग विश्व हिन्दू परिषद् नेपाल पनि माग गरेको उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझदै गृहमन्त्री खाणले तत्कालै पीडित परिवारलाई सम्पूर्ण क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक प्रकृया अगाडि बढाउन अर्थ सचिवलाई आदेश दिनुभएको छ ।

छठपर्व मनाउने क्रममा कार्तिक २५ गते स्थानीय दुई समूहबीच भएको झडपका क्रममा राधेश्याम पटेलको टाउकोमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा पुस २१ गते वीरगन्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply