काठमाडौं, १५ कात्तिक । अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । नयाँ प्रणाली अर्नबभन्दा कमजोर रहेको र यसको नेपालमा खासै प्रभाव नदेखिने मौसमविद्हरूले बताएका छन् ।

भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित नयाँ प्रणाली नोभेम्बर ३ अर्थात् कात्तिक १७ गते बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने र जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

आँधी जमिनमा प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने तथा झोक्कासहितको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते राति ११ः३० बजे भारतीय समयअनुसार उक्त प्रणाली बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा केन्द्रित थियो । त्यसबेला यो पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरिरहेको थियो ।

प्रणाली चेन्नईबाट करिब ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व, विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्व, मछलीपट्टनमबाट ९०० किलोमिटर दक्षिणपूर्व र ओङ्गोलबाट ९५० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको थियो ।

भारतीय मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार नोभेम्बर १ अर्थात् कात्तिक १५ गते दिउँसोसम्म प्रणाली गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । त्यसपछि नोभेम्बर १ को मध्यरातसम्म चक्रवाती आँधी र नोभेम्बर २ मा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने सम्भावना छ ।

यो प्रणाली नोभेम्बर ३ को बिहान नेल्लोर र नरसापुरबीचको दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

नयाँ विकसित प्रणाली अर्नब चक्रवातको तुलनामा कमजोर रहेको मौसम विश्लेषण गरिएको छ ।

भारतको मौसम तथा जलवायु विश्लेषण गर्ने निजी संस्था स्काईमेटका अनुसार अर्नब चक्रवात बंगालको खाडीबाट जमिनमा प्रवेश गर्न सात दिन लागेको थियो । यस अवधिमा समुद्रबाट पर्याप्त जलवाष्पयुक्त हावा प्राप्त गरेकाले अर्नब शक्तिशाली बनेको थियो ।

तर अहिलेको प्रणाली तीन दिनमै जमिनमा पुग्ने अनुमान गरिएकाले यसले अर्नबको तुलनामा कम जलवाष्प बोकेको स्काईमेटको विश्लेषण छ । त्यसैले नयाँ प्रणालीले अर्नबजस्तो व्यापक वर्षा गराउने सम्भावना कम रहेको बताइएको छ ।

अर्नब चक्रवातको प्रभावका कारण नेपालमा कात्तिक १२, १३ र १४ गते वर्षा तथा हिमपात भएको थियो । तर बंगालको खाडीमा विकसित नयाँ प्रणालीको प्रभाव नेपालमा पर्ने वा नपर्ने विषयमा अझै निश्चित भइसकेको छैन ।

भारतीय मौसमविद्हरूले नयाँ प्रणालीको प्रभाव नेपालसँग सीमा जोडिएको उत्तर भारतको बिहार राज्यसम्म देखिन सक्ने बताएका छन् ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले पनि प्रणालीको विकासक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । यद्यपि नेपालमा यसको खासै प्रभाव नदेखिने मौसमविद्हरूको प्रारम्भिक अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले नयाँ प्रणालीबाट नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताएका छन् ।

‘यसले खासै असर गर्ने जस्तो देखिँदैन । यस्तो भइरहन्छ । त्यस्तो धेरै इम्प्याक्ट गर्ने जस्तो देखिँदैन,’ उनले भने ।

मौसमविद्हरूका अनुसार प्रणालीको आगामी दिशा र विकासक्रमअनुसार यसको प्रभावबारे थप स्पष्ट हुनेछ ।

Leave a Reply