जनकपुरधाम,धनुषामा एक महिलाको हत्या आरोपमा बाराको कलैया उपमहानगरपालिकाका एकजना युवक पक्राउ परेका छन् ।धनुषाको मिथिलाबिहारी नगरपालिका– ८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा कलैया नगरपालिका– १८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलवार सार्वजनिक गरेको हो । २८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।उषाको २० जेठमा नै हत्या भएको थियो । २८ गते साँझ ५ बजे पोखरीको छेउमा जनावरले खोस्रेको देखेपछि शंका लागेर स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उत्खनन गरेपछि उषाका छोराबुहारीले शव सनाखत गरेका थिए ।एकल महिला उषाको हत्या उनका छोराबुहारी घरमा नभएको बेला भएको थियो । प्रहरीले मृतक उषाको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।



















