काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेको केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिनुभएको छ । उहाँले आफ्नो धेरै आलोचना होला भन्ने लागेको तर आलोचना कम भएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले जीवन्त छलफल भएको र पार्टीमा योग्य नेताहरू छन् भन्ने कुरा सबैले बुझुन् भनेर बैठकको लाइभ गरेको बताउनुभयो ।महामन्त्री विश्वप्रकाश शर्माले बैठकले गरेका निर्णय पनि प्रस्तुत गर्नुभएको छ । कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ । महामन्त्री शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने प्रस्ताव गर्नुभएको हो । मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।यसैगरी बैठकले विभिन्न चुनावमा बागी उम्मेदवार बनेर जितेकाहरूको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो ।यसैबीच कांग्रेसले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा कम वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताउनुभयो ।यस्तै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै कांग्रेसले जोकोहीले भ्रष्टाचार गरेको भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्नेसमेत कांग्रेसले बताएको छ ।कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे भने कांग्रेस मौन बसेको छ । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले खाणलाई निलम्बन गर्नुपर्ने मत राख्नुभएको छ भने केहीले साथ दिनुपर्ने मत राखेका छन् ।

Leave a Reply