कलैया । नेपाली कांग्रेसभित्र संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला बारामा शेरबहादुर देउवा पक्षले आज आइतबार १५औँ जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ ।
देउवा पक्षले कलैयास्थित बीपी स्मृति भवनमा अधिवेशन गर्न लागेको हो । अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले जानकारी दिएका छन् ।
उनका अनुसार निर्धारित कार्यतालिकाअनुसार नै अधिवेशनका कार्यक्रम सञ्चालन गरिनेछ । अधिवेशनमा जिल्लाका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
कांग्रेसभित्र दुई पक्षबीच संगठनात्मक गतिविधि अलग-अलग रूपमा अघि बढिरहेका बेला बारामा हुन लागेको यो अधिवेशनलाई राजनीतिक रूपमा समेत महत्वपूर्ण मानिएको छ ।
देउवा पक्षले जिल्ला अधिवेशनको तयारी पूरा गरिसकेको भए पनि गगन थापा पक्षले भने बारामा जिल्ला तथा प्रदेश अधिवेशन गर्न बाँकी रहेको छ ।
दुवै पक्षले छुट्टाछुट्टै रूपमा संगठनात्मक गतिविधि अघि बढाइरहेका कारण बारामा कांग्रेसको आन्तरिक राजनीतिक समीकरण थप पेचिलो बनेको देखिन्छ ।
देउवा पक्षको अधिवेशनबाट जिल्ला नेतृत्व चयनसँगै आगामी सांगठनिक गतिविधिका विषयमा समेत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
















