परासी । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका–२ स्थित सेतो पुल नजिक हुलाकी सडकमा आज दिउँसो करिब १२ः१५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पोखरेल गम्भीर घाइते हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एउटै दिशातर्फ गइरहेको लु।प्र। ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु।प।प्र। ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी ४५ वर्षीय पोखरेललाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरेल काठमाडौंस्थित आर्थिक राष्ट्रिय दैनिकका संवाददाता तथा रूपन्देहीबाट प्रकाशित अग्निपरीक्षा साप्ताहिकका प्रकाशक एवं सम्पादक हुनुहुन्थ्यो ।
















