कलैया,नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिवार हुने दोस्रो चरणको निर्वाचनमा रामानन्द यादवले सभापतिमा राजेश यादवलाई समर्थन गर्नुभएको छ । दोस्रो चरणको निर्वाचनमा राजेश राय यादव र शम्भुबहादुर बुढाथोकीबीच शनिवार प्रतिस्पर्धा हुदै छ ।
पहिलो चरणको निर्वाचनमा सभापती पदको उम्मेदवारीबाट बाहिरिएका रामानन्द यादवले शुक्रवार राति दोस्रो चरणको मतदानमा आफूहरुको समर्थन राजेश राय यादवलाई भएको जानकारी दिनुभयो । कलैयास्थित करण राज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो समुहको बैठक बसेर राजेश रायलाई समर्थन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ ।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा खानेपानीमन्त्री उमाकान्त चौधरी, लालबाबु सिंह, रामानन्द यादव, मुकेश कुश्वाहा, राजेन्द्र यादव, राम अवध यादव, रामप्रसाद चौधरी सम्मिलित समितीको गहन छलफल पछि राजेश यादव लाई सभापतिमा सहयोग गर्ने निर्णय भएको बताइएको छ । पत्रकार सम्मेलनमा काङ्ग्रेस मधेस प्रदेश संयोजक रमेश रिजाल, सविधानसभा सदस्य राधेचन्द्र यादव, क्षेत्रीय सभापती रामप्रवेश यादव, लगायतका नेताहरुको उपस्थिति रहेको थियो । रामानन्दको समर्थनसंगै कांग्रेश जिल्ला सभापतीमा राजेश राय यादवको जित निश्चित जस्तै बनेको छ ।