काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।

महाधिवेशनका लागि समूहले काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रिय सभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति मागेको थियो । महानगरपालिकाले महाधिवेशनका लागि अनुमति दिएको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिएका छन् ।

महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्थान माग गर्दै लेखिएको पत्र बिहीबार महानगरपालिकामा बुझाइएको थियो ।

समूहले महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गर्ने तयारी गरेको छ । त्यस्तै, नयाँ कार्यसमिति चयनका लागि मतदान राष्ट्रिय सभा गृहमा र खानाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा गर्ने योजना रहेको नेता डा। प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि कांग्रेस संस्थापन पक्षले पनि १५औँ महाधिवेशन खुलामञ्चमा आयोजना गरेको थियो । त्यसबेला निर्वाचन राष्ट्रिय सभा गृहमा र खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको थियो ।

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ । अहिले समूहले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने समूहका नेताहरूको दाबी छ ।

Leave a Reply