कलैया,एम समिउल्लाहको संयोजकत्वमा कलैयामा नगर खेलकुद विकास समिति गठनकलैया उपमहानगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेको छ । कार्यपालिकाको आइतवार बसेको सातौं बोर्ड बैठकबाट फुटबलका पूर्वखेलाडी महमद समिउल्लाहको संयोजकत्वमा नगर खेलकुद विकास समिति गठन गरेको हो ।

कलैया उपमहानगरपालिका जिल्लामा खेलकुद विकास समिति गठन गर्ने पहिलो पालिका पनि बनेको छ । स्थानीय तह संचालन कार्यविधिमा स्थानीयत तहले आफ्नो पालिकाको खेल क्षेत्रको विकासको लागि समिति गठन गर्नसक्ने अधिकार दिएको भए पनि बारा जिल्लाका १६ मध्ये कुनै पालिकाले पनि अहिलेसम्म खेलकुद विकास समिति गठन गर्न सकेका छैनन ।

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वसहायक महामन्त्री समेत रहनुभएका समिउल्लाहको संयोजकत्वमा गठन भएको नगर खेलकुद विकास समितिको सदस्यहरुमा आमोद गुप्ता, रामविक्रम शाह, तसरुद्दिन मन्सुर, शैलेश श्रेष्ठ, दिनदयाल साह र सदस्य सचिव राजेश्वर गौतम रहनुभएको छ । समितिका सदस्य सचिव गौतम र शाह पूर्वफुटबलर हुनुहुन्छ भने मन्सुर र आमोद कपर्दी तथा शैलेश पूर्वक्रिकेटर र दिनदयाल मार्शलआर्टको खेलाडी हुनुहुन्छ । उपमहानगरपालिकाले खेल क्षेत्रमा योगदान गरेको व्यक्तिहरुलाई समावेश गरेर समिति गठन गरेको हो ।

संयोजक समिउल्लाहले उपमहानगरपालिकाले नगर खेलकुद समिति गठन गरेर खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख विनोद साहलगायत कार्यपालिकाका सदस्यहरुलाई धन्यवाद समेत दिनुभएको छ । उहाँले समितिले नगरको खेलकुद क्षेत्रको विकासको लागि योजना निर्माण गरेर काम गर्ने बताउनुभयो ।

कलैया उपमहानगरपालिका क्रिकेट, कुस्ती र कपर्दी खेलको उर्वर भूमिको रुपमा चिनिन्छ । यहाँबाट विभिन्न खेलका २ दर्जनभन्दा बढी राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन । तर पछिल्लो समय खेल प्रतियोगिता र खेलाडीलाई सहयोगको अभावमा खेलाडी उत्पादन रोकिएको छ ।

युवाहरुलाई खेलप्रति अकर्षित गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक खेलाडी उत्पादन गरी नगर र देशको गौरव वृद्धि गर्न खेलकुद ऐन र कार्यविधि बनाएर खेलकुद विकास समिति गठन गरिएको नगर प्रमुख साहले बताउनुभयो ।

 

Leave a Reply