काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पेसी सार्न दिएको निवेदनलाई विशेष अदालतले अनुमति दिएको छ ।

कात्तिक १९ गते अन्तिम आदेशका लागि तोकिएको पेसीमा आफू विशेष कामले बाहिर जानुपर्ने भन्दै नेपालले अदालतमा निवेदन दिनुभएको थियो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उहाँको निवेदनअनुसार पेसी सार्न अनुमति दिएको हो ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार नेपालले एकपटकका लागि पेसी सार्न पाउने अधिकार प्रयोग गरी निवेदन दिनुभएको थियो । उहाँका अनुसार अर्को पेसीमा मुद्दाको अन्तिम आदेश आउन सक्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारको आरोपअनुसार २०६६ सालमा नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्बाट पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई काभ्रेपलाञ्चोकको साँगा क्षेत्रमा हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिइएको थियो । पछि सोही जग्गा बिक्री गर्नसमेत अनुमति दिइएको आरोप छ ।

अख्तियारले १८ करोड ५८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । आरोपपत्रमा ५९४ रोपनीभन्दा बढी जग्गा खरिद र हदबन्दीभन्दा बढी ३१४ रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको विषयसमेत उल्लेख छ ।

मुद्दामा लगाइएका आरोपबारे अदालतबाट अन्तिम फैसला हुन बाँकी छ ।

Leave a Reply