काठमाडौं । दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अनलाइन ठगी केन्द्रमा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार अनलाइन ठगीमा परेर अलपत्र पर्ने नेपालीको संख्या अझै रोकिएको छैन । पीडित तथा उनीहरूका आफन्त मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासको सम्पर्कमा आउने क्रम जारी छ ।
सम्पर्कमा आएका अलपत्र नेपालीलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वैदेशिक रोजगारी तथा अन्य अवसरका नाममा दिइने झुटा प्रलोभनमा नपर्न र गैरकानुनी गतिविधिमा संलग्न नहुन नेपाली नागरिकलाई आग्रह गरेको छ ।
















