कलैया,जिल्ला प्रहरी कार्यालय बाराले गत आर्थिक वर्ष २०७९÷८० मा ४ सय ४४ वटा मुद्दा फर्छयौट गरेको छ ।गत आर्थिक वर्षमा दर्ता भएका जम्मा १ हजार ८ वटा मुद्दामध्ये प्रहरीले ४ सय ४४ वटा मुद्दा फर्छयौट गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँकाअनुसार जम्मा मुद्दामध्ये ४४ दशमलव ०४ प्रतिशत मुद्दाको टुङ्गो लगाइएको हो ।गत आर्थिक वर्षमै बारा प्रहरीले २ हजार २ सय १५ जनामध्ये ४ सय ८९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जसको जम्मा कैद १ सय ७६ वर्ष ८ महिना १८ दिन हुँदा १ करोड, ५४ लाख ९३ हजार ४ सय २६ रुपैयाँ जरिवाना संकलन भएको छ ।वन्यजन्तु तस्करीविरुद्धको कारबाहीलाई पनि प्रहरीले तीव्रता दिएको प्रहरी उपरीक्षक बोगटीको दाबी छ । उहाँकाअनुसार गत आर्थिक वर्षमा बारा प्रहरीले अनुमानित ३६ लाख ६२ हजार १ सय रुपैयाँ बराबरको १ हजार २ सय २१ क्युफिट सालको काठ बरामद गरेको छ । जसमा संलग्न रहेका ९ जनालाई पक्राउ समेत गरिएको बोगटीले बताउनुभयो ।भारतसँग खुला सीमाना जोडिएको हुँदा सुरक्षाका लागि चुनौती भएपनि सीमा तस्करी नियन्त्रणमा धेरै सुधार भएको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ । उहाँले उपलब्ध गराएको तथ्यांकअनुसार बारा प्रहरीले गत आर्थिक वर्षमा १२ करोड ६१ लख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको सामाग्री बरामद गरेर भन्सार चलान गरेको छ । तस्करीमा संलग्न १९ जनालाई पक्राउ पनि गरिएको बारा प्रहरीले जनाएको छ ।



















