वीरगन्ज,आफैले बोकेको राईफलको गोली लागेर घाइते भएका वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणको ब्यारेकमा कार्यरत नेपाली सेनाका एक जवानलई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

वीरगन्जस्थित सेनाको ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ सतवरिया टोल घर भएका सेनाका जवान २२ बर्षिय श्यामबाबुप्रसाद चौहान आइतबार राति साढे ८ बजे आफैले गोली हानेर घाइते बनेका थिए । ब्यारेकमा ड्युटीमा खटिएकै बेला चौहानले आफुसंग रहेको स्वचालित राइफलले आफैलाई गोली हान्दा चौहानको चिउडोबाट गोली छिरेर आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । गोली लागेर गम्भीर घाइते चौहानको वीरगन्जकै नेशनल मेडिकल कलेजमा उपचार भएपनि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

नेपाली सेनाका चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अवस्था गम्भीर रहेका चौहानलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौस्थित सैनिक अस्पतालमा पठाइएको बताउनुभयो । गोली लागेर घाइते भएका चौहानलाई उपचारका लागि शुरुमा नारायणी अस्पतालमा लगिएको थियो । तर, त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले घाइते चौहानको अवस्था हेर्दा ड्युटिमा रहेका बेला आफैले आफैलाई गोली हानेको जस्तो देखिएको भन्दै यस बारेमा सेनाले नै अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । नेपाली सेनाका चण्डीप्रसाद गणका गणपति कर्णेल राणाले भने हतियार सहित डिउटीमा रहेको बेला त्रुटी भएर राइफल पड्किएको हुन सक्ने बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply