काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ।

तराईका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमआँधी, भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यहाँ पुगेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षाका कारण चिसो बढ्नुका साथै पहिरो, सडक तथा हवाई यातायातमा अवरोध र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply