जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्ड विस्तारको काम ठप्प भएको छ । निर्माणमा खटिएका अधिकांश कामदार दसैँअघि नै घर फर्किएपछि धनुषा, महोत्तरी र सर्लाही खण्डमा सडक निर्माण प्रभावित भएको हो ।
रसुवा कन्स्ट्रक्सनका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार कामदार अभाव र प्रतिकूल मौसमका कारण निर्माण कार्य रोकिएको छ । छठपछि कामदार फर्किएसँगै निर्माणलाई तीव्रता दिने तयारी रहेको उहाँले बताउनुभयो ।
कमला–ढल्केबर–पथलैया सडक आयोजना ९पूर्वी खण्ड० का प्रमुख राजेशकुमार दासका अनुसार ठेक्का अवधिको करिब ७० प्रतिशत समय बितिसक्दा काम भने ३० प्रतिशतको हाराहारीमा मात्रै सम्पन्न भएको छ । हाल केही स्थानमा पुल निर्माणको काम मात्रै भइरहेको छ ।
धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४।७५ किलोमिटर सडक बजार क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेनमा विस्तार गर्ने योजना छ । आयोजना कार्यालयका अनुसार धनुषामा ३०, महोत्तरीमा २८ र सर्लाहीमा ३६ प्रतिशत काम सम्पन्न भएको छ ।
निर्माण व्यवसायीले चाडपर्वपछि काम अघि बढाउने तयारी गरे पनि धेरै स्थानमा निर्माणस्थल खाली नभएको र माटो अभाव रहेको बताएका छन् । माटोको सहज आपूर्ति र निर्माणस्थल व्यवस्थापनका लागि आयोजना कार्यालयले सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।

















