सिरहा । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन्। उनी लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि अदालतबाट म्याद थप गरी फर्काउने क्रममा प्रहरीको नियन्त्रणबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका दासलाई असोज २२ गते जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा हतकडी फुत्काएर फरार भएका थिए।
फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो। प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार गएराति ११ बजेर ३५ मिनेटमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नेपाल–भारत दशगजा क्षेत्रअन्तर्गत सिरहा नगरपालिका–१४ खिरौनाबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















