वीरगन्ज,वीरगन्ज महानगरपालिकामा प्रमुखभन्दा उपप्रमुख पदमा बढी मत बदर भएको छ । खसेको मत ९३ हजार ७८२ को झण्डै ४७ प्रतिशत मत बदर भएको हो ।
उपप्रमुख पदमा निर्वाचित उम्मेदवारको भन्दा बढी मत बदर भएको छ । उपप्रमुखमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत पाउनु भएको थियो । तर, उपप्रमुख पदमा ४३ हजार ७५३ मत बदर भएको छ । उपप्रमुखले पाएको भन्दा १३ हजार ६५७ मत बदर भएको हो ।
प्रमुख पदमा उपप्रमुखको तुलनामा कम मत अर्थात् २० हजार १९० मत मात्रै बदर छ । प्रमुखमा विजयी उम्मेदवार राजेशमानले ४६ हजार २१५ मत पाउँनु भएको थियो । प्रमुख पदमा २१.५ प्रतिशत मत बदर भएको छ । वडा अध्यक्ष लगायत अन्य पदमा पनि बदर मत देखिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सबैभन्दा बढी मत उम्मेदवार नैं नभएको ठाउँमा मत खसाएका कारण भएको जानकारी दिनुभयो । त्यस बाहेक मतपत्रमा निर्वाचन चिन्हको कोठा भन्दा बाहिर छाप लगाएको, उम्मेदवार भएकोमा आवश्यकता भन्दा बढी चिह्नमा मत दिएको, राजनीतिक समीकरण भए नभएका सबै पदमा मत दिएको लगायतका कारणले गर्दा मत बदर बढी देखिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
मतदाता शिक्षाको अभाव र राजनैतिक दलको कमजोरीका कारण पनि बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलेको भनाई छ ।