वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २८ लाखभन्दा बढी रकमसहित पक्राउ गरेका तिन जनालाई सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जिल्ला बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षीय दीपक कुमार सोनार, पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय अनिल कुमार बर्णवाल र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलका २३ वर्षीय बिनितकुमार श्रीवास्तव रहेका छन् । मंगलवार पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधवार सार्वजनिक गरेको हो ।
विशेष सूचनाका आधारमा वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले २८ लाख २८ हजार रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बर्णवाललाई स्रोत नखुलेको ९ लाख ४७ हजार रुपैयाँसहित वीरगञ्ज महानगरपालिका १० मकालु चोकबाट पक्राउ गरिएको हो । यसैगरी कृषि विकास बैंक वीरगञ्ज शाखा (वडा नम्बर ८, लिंक रोड) बाट श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको थिये भने सोनारलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ३ लाख रुपैयाँ नगद र ना१६प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ गरिएको हो ।पक्राउ परेका तिनै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारको आशंकामा नियन्त्रणमा लिइएको हो पर्साका प्रवक्ता लम्सालले जनाउनुभएको छ ।पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















