बसन्त लामा
सिंगौल,बाराको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा बिहीबार एक विशेष कार्यक्रमका बीच स्वास्थ्य भवनको शिलान्यास सम्पन्न गरिएको छ ।१८औँ गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा नगर प्रमुख सुरथ पुरी र उप–प्रमुख सोममाया थिङले वैदिक विधिअनुसार भवन शिलान्यास गर्नुभएको हो ।मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा चालु आर्थिक वर्ष २०८१र८२ मा विनियोजन गरिएको ४० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको सो भवन दुईवटा स्टोर रुमसहित ६ कोठाको हुनेछ ।
हाल सिंगौलमा रहेको भरतगञ्ज स्वास्थ्य चौकी जीर्ण भइसकेको र स्थानको अभावका कारण बिरामी तथा स्वास्थ्य सेवाका लागि आउने सेवाग्राहीहरूलाई ठूलो कठिनाइ भोग्नु परेको स्थानीयवासीको भनाई छ । स्वास्थ्य भवनको अभावमा केही कार्यक्रमहरू सञ्चालन गर्नसमेत असहजता हुँदै आएको थियो ।स्थानीय राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, स्वास्थ्य संस्थाका कर्मचारी लगायतको संयुक्त पहलमा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठ, अस्थायी प्रहरी चौकी सिंगौलका इन्चार्ज, वडा नम्बर ३ का समाजसेवी ज्ञानु जिम्बा, वडा नम्बर २ का पूर्वकार्यवाहक अध्यक्ष पुष्कर खड्का, सञ्चारकर्मी महेश्वर अधिकारी, उमेश घलानसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
भवन निर्माण कार्य उपभोक्ता समितिमार्फत अघि बढाइनेछ । सो उपभोक्ता समितिको अध्यक्षमा वडा नम्बर २ का स्थानीय रमेशकुमार पुलामी रहनुभएको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार नयाँ स्वास्थ्य भवन वडा कार्यालयको कम्पाउण्डभित्र निर्माण गरिनेछ ।सिंगौलमा हाल बाटोघाटोको समस्या हट्दै गएको भए पनि खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू अझै चुनौतीका रूपमा रहेको स्थानीयको भनाई छ ।शिलान्यासपश्चात वडा कार्यालयमा आयोजित छलफलमा स्थानीयले मेयर सुरथ पुरीलाई शिक्षा र खानेपानीतर्फ पनि ध्यान दिन आग्रह गर्नुभएको थियो ।स्थानीयको दीर्घकालीन अपेक्षा रहेको स्वास्थ्य भवन निर्माणले अब स्वास्थ्य सेवामा सुधार हुने आशा गरिएको छ ।



















