फाईल तस्विर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका तरकारी तथा फलफूलको थोक बजारलाई व्यवस्थित बनाउन व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन निर्देशन दिएको छ।

महानगरपालिकाले बिहीबार जारी गरेको सार्वजनिक सूचनाअनुसार वडा नम्बर २ मा निर्माण भई सञ्चालनका लागि तयार रहेको व्यवस्थित तरकारी तथा फलफूल बजारमा थोक व्यवसाय सञ्चालन गर्नुपर्नेछ।

महानगरपालिकाको क्षेत्रभित्र छरिएर रहेका तथा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका सम्पूर्ण थोक तरकारी तथा फलफूल व्यवसायीलाई एकै स्थानमा केन्द्रित गरी बजार व्यवस्थापन, यातायात आवागमन तथा उपभोक्ताको पहुँच सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

महानगरपालिकाले आजको मितिदेखि २१ दिनभित्र अर्थात् २०८३ कात्तिक २० गतेसम्म वडा नम्बर २ मा रहेको व्यवस्थित तरकारी तथा फलफूल थोक बजारमा अनिवार्य रूपमा स्थानान्तरण हुन व्यवसायीलाई आग्रह गरेको छ।

तोकिएको समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीले बजार व्यवस्थापनमा थप अवरोध सिर्जना गरेको ठहर हुने र त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले लिनुपर्ने सूचनामा जनाइएको छ।

महानगरपालिकाले बजार व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन व्यवसायीलाई निर्धारित समयसीमाभित्र स्थानान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार व्यवस्थित बजार सञ्चालनमा आएपछि तरकारी तथा फलफूलको थोक कारोबारलाई एउटै स्थानमा केन्द्रित गर्न, सडकमा हुने अव्यवस्थित व्यापार कम गर्न, यातायात आवागमन सहज बनाउन तथा बजार क्षेत्रको सरसफाइ र स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाले वीरगञ्जलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानमा सम्पूर्ण व्यवसायीको सहयोग आवश्यक रहेको जनाएको छ। सूचनामा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले हस्ताक्षर गरेका छन्।

Leave a Reply