मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएको थियो । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो बुधवार सफल हुन सकेन ।प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनीति लिएको हो ।प्रदेशका मुख्यमन्त्रीसँग प्याकेजमा सहमति गरेरमात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको तयारी छ । एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमति कांग्रेससँग पनि हुनुपर्ने माग नेता लामाले राख्नुभएको छ । बिना सहमति र सर्तमा, सहमति नभएसम्म मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने कांग्रेस नेताहरू बताउँछन् ।नेकपा एमालेले पनि माओवादी नेतृत्वको सरकार छोड्दा प्रदेश सभा बैठकमा सम्बोधन गरेरमात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बाग्मती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले सरकारबाट बाहिरिनका लागि सर्त अघि सारेको हो ।बाग्मती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरू प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेरमात्र बाहिरिने प्रस्ट पार्नुभयो ।‘हामी सरकारमै बसिरहने भन्ने होइन’, उहाँले भन्नुभयो, ‘हामी राजीनामा दिन तयार छौँ तर प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न चाहन्छौँ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मतलगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।एमालेले भने प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट बाहिरिने सर्त राखेको हो । थपलियाले भन्नुभयो, ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । प्रदेश सभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौँ ।’