काठमाडौँ। धान खेतीमा बढ्दो लागत र रासायनिक मलप्रतिको निर्भरता घटाउने उद्देश्यसहित नील–हरित शैवाल (ब्लु–ग्रीन एल्गी) प्रभावकारी जैविक विकल्पका रूपमा उभरिएको छ। कृषि विज्ञहरूका अनुसार यसको प्रयोगले उत्पादनमा १० देखि १५ प्रतिशतसम्म वृद्धि हुनुका साथै प्रति हेक्टर २५ देखि ३० किलोग्रामसम्म नाइट्रोजन बचत गर्न सकिन्छ।

कृषि विज्ञान केन्द्र, राजनांदगाउँकी वरिष्ठ वैज्ञानिक डा. गुजन झाले नील–हरित शैवाल प्रकाश संश्लेषण गर्ने सूक्ष्म जीव भएको बताउँदै यसले वातावरणबाट नाइट्रोजन लिएर माटोमा स्थिर गर्ने जानकारी दिइन्। उनका अनुसार यसले बालीलाई प्राकृतिक रूपमा पोषण उपलब्ध गराउँदै रासायनिक मलको आवश्यकता घटाउँछ।

उनले शैवालको प्रयोगले उत्पादन वृद्धि मात्र नभई माटोको गुणस्तर सुधार गर्न पनि सहयोग गर्ने बताइन्। माटोमा जीवांश वृद्धि गराई यसलाई उर्वर बनाउने तथा लाभदायक सूक्ष्म जीवहरूको सक्रियता बढाउने गुण यसमा रहेको छ। ‘एनाबीना’ र ‘नॉस्टोक’ प्रजाति धान खेतीका लागि विशेष रूपमा उपयोगी मानिन्छन्।

नील–हरित शैवालले अक्सिजन उत्सर्जन गर्ने भएकाले पानी जमेको खेतमा अनुकूल वातावरण सिर्जना हुने र जल स्रोतमा पोषक तत्वको सन्तुलन कायम गर्न समेत मद्दत पुग्ने जनाइएको छ।

यद्यपि, यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सबै प्रकारका नील–हरित शैवाल सुरक्षित नहुने र केहीमा ‘माइक्रोसिस्टिन’ जस्ता विषाक्त तत्व पाइने भएकाले प्रमाणित तथा प्रयोगशालामा तयार गरिएका उत्पादन मात्रै प्रयोग गर्नुपर्ने डा. झाले स्पष्ट पारिन्।

उनका अनुसार नील–हरित शैवाल खेत वा घरमै खाल्डो बनाएर उत्पादन गर्न सकिन्छ। माटो, गोबर मल र पानी मिसाई त्यसमा सुपर फस्फेट तथा शैवाल कल्चर राखी घाममा १०–१५ दिन राख्दा शैवाल तयार हुन्छ। त्यसलाई सुकाएर भण्डारण गर्न सकिन्छ।

धान रोपाइँ गरेको ७ देखि १० दिनपछि पानी जमेको खेतमा प्रति हेक्टर करिब १० किलोग्रामका दरले शैवाल प्रयोग गर्नुपर्ने र त्यसपछि १०–१५ दिनसम्म खेतमा पर्याप्त चिस्यान कायम राख्नुपर्ने सुझाव दिइएको छ

Leave a Reply