निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ८ का किसान हिराबहादुर थापा मगरलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षको उत्कृष्ट कृषक पुरस्कार २०८१ प्रदान गरेको छ ।सरकारले देशभरका १४ किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ वितरण गर्ने क्रममा मंगलवार निजगगढका किसान मगरलाई पनि सम्मान गरेको हो ।निजगढ केरा एग्रिकल्चर फर्मका सञ्चालक समेत रहनुभएका मगरले निजगढ ८ मा सोही फर्ममार्फत आधुनिक प्रविधिबाट केरा खेती गर्दैआउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७ प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई÷दुईजनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुने किसानमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म), मधेसबाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि) छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट छिरिङढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनीबाट जयपाल मौर्य (खाद्यान्न बाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म) छ्न् ।

यसैगरी कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि) छ्न् ।
पुरस्कृत किसानलाई जनही २ लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गनुभयो ।कृषि मन्त्रालयले हरेक वर्ष सातवटै प्रदेशका २-२ जना किसानलाई उत्कृष्ट कृषि पुरस्कार प्रदान गर्दैआएको छ ।

Leave a Reply