गोकुल घोरसाइने

निजगढ,माइती हिडेकी एक बुहारीमाथि एसिड प्रहार गर्ने ससुरा र जेठाजुलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । एसिड प्रहार गरी बुहारी सीता पटेललाई घाइते बनाउने वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने ससुरा ५० वर्षीय हवारी साह र जेठाजु ३० वर्षीय रामबाबु साहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीपुरस्थित घरबाट स्कुटी चढेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर– २३ कोइरियाटोलस्थित माइतीघर आउदै गरेकी २८ वर्षीय पटेलमाथि ससुरा र जेठाजुले माइतीघर पुग्नु अगाबै सडकमा रोकेर एसिड प्रहार गरेका हुन् । सीतामाथि कलैया–वीरगन्ज सडक खण्डको सिसहनीय चोक पश्चिमको दक्षिणतर्फ जाने कच्ची सडकको १ सय मिटरभित्र एकान्तमा एसिड प्रहार भएको प्रहरीले बताएको छ । सीताले फोन सम्पर्क गरेर प्रहरीलाई घटना बारे जानकारी दिएकी थिइन ।

दुई वटा मोटरसाईकलमा आएका उनीहरुले शुक्रबार राती ८ बजे बीच बाटोमै एसिड प्रहार गरेर फरार भएको प्रहरीले बताएको छ । ‘२ वटा मोटरसाइकलमा ४ जना आएका थिए, सीताको भनाइ उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले भन्नुभयो, पीडित महिलाले दिएको बयानको आधारमा ससुरा र जेठाजुलाई प्रक्राउ गरिएको हो ।’ थप दुई जनाको भने पहिचान भइनसकेको उहाँले जानकारी दिनुभयो ।

एसिड प्रहारको घटना बारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट पुगेको प्रहरी टोलीले सीताको उद्धार गरी उनीहरुको खोजी कार्य सुरु गरेको थियो । खोजीको क्रममा उनीहरु दुबैजनालाई वीरगन्जबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एसिड प्रहारबाट घाईते भएकी सिताको हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार चलिरहेको छ । सिताको डाडमा एसिड प्रहार भएको र उनी खतरामुक्त रहेको डिएसपी थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here