काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार यादवले बाइनान्स एपमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार गर्नुका साथै अनलाइन सट्टेबाजी ९बेटिङ० गराउने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले प्राप्त सूचनाका आधारमा सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गर्दा यादवको बाइनान्स खाताबाट २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको पत्ता लगाएको जनाएको छ।
प्रति अमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन आउँछ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी यादवलाई पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ बमोजिम जुवा खेल्ने वा सट्टेबाजी गर्ने कसुर तथा दफा २६२९क०९१० अन्तर्गत अभौतिक मुद्राको प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
यस प्रकरणमा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बिहीबार जानकारी दिएका छन्।
प्रहरीले यादवको खाताबाट भएको कारोबार, क्रिप्टोकरेन्सीको प्रयोग तथा अनलाइन सट्टेबाजीसँगको सम्भावित सम्बन्धबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोगमाथि कानुनी प्रतिबन्ध रहेकाले यस्ता गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो। पक्राउ परेका यादवमाथिको आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।















