वीरगन्ज,पर्साको ठोरीमा सोमवार रामसीता विवाह महोत्सव मनाइएको छ ।ठोरी गाउँपालिका–२ मा पर्ने सीतागुफामा वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह मनाइएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विवाह महोत्सवमा उपस्थित भक्तहरुलाई दुई पक्षमा विभाजन गरी (रामपक्ष र सीता पक्ष बनी) जन्ती लगेर सीता गुफा परिसरमा विवाह गरी गुफामा भित्र्याइएको छ ।
स्थानीयहरुले विगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा यस क्षेत्रमा धुमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि यसको महत्त्व बढेर छ। तर ममन्दिर माडीमा बनाइएपछि स्थानीयहरुको गुनासो छ ।
ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनी शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो ।
सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता बिष्टले बताउनुभयो ।
यसैबीच विवाह पञ्चमी पर्व देशभर मनाइँएको छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी सोमवार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक मनाइँएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक विश्वास छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइएको थियो । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिएको थियो ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका थिए ।
यो महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले पाँच दिनसम्म मनाइन्छ ।


















