काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ। कारोबार रकमसमेत बढेर ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
नेप्से परिसूचक साउन १२ गतेयताकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार बजारमा ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बिहीबारको कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो। उक्त दिन बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज कारोबारमा आएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
बिहीबार नेप्सेका सबै समूहगत सूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत र होटल तथा पर्यटन समूह २.०५ प्रतिशतले बढेका छन्।
त्यसैगरी जलविद्युत् समूह ०.३६ प्रतिशत, लगानी समूह ०.२४ प्रतिशत, जीवन बीमा समूह ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत र लघुवित्त समूह ०.५४ प्रतिशतले बढेका छन्।
निर्जीवन बीमा समूह ०.१३ प्रतिशत, अन्य समूह २.४५ प्रतिशत तथा व्यापार समूह ०.०३ प्रतिशतले वृद्धि भएका छन्।
बिहीबारको कारोबारमा हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ।
सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५।६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले बढेको छ।
यता, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ।
बिहीबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन्।

















