निजगढ,निजगढ नगरपालिकाले नगरभित्र संचालनमा रहेका व्यवसायको दर्ता र नवीकरणको लागि घुम्ती टोली परिचालन गरेको छ । पालिकाले नगरभित्रका व्यवसायीहरुको अभिलेख अध्यावधिक गर्न र करको दायरामा ल्याउन आइतवारबाट टोली खटाएको हो ।निजगढ ९ को शहिद चोकबाट सुरु भएको अभियानअन्र्तगत टोलीले पहिलो दिन दर्ता भएका ५२ वटा व्यवसायको अनुगमन गरेको थियो । जसमा ३० वटा कागजपत्र नभएका तथा नवीकरण नभएका व्यवसायीलाई ५ दिनभित्र कार्यालयमा आएर नवीकरण गर्न पत्राचार गरिएको र दर्ता नभएको एउटा नयाँ व्यवसायको दर्ता पनि गरिएको कार्यालयका राजस्व शाखा प्रमुख दिनेश श्रेष्ठले बताउनुभयो ।निजगढ नगर उद्योग वाणिज्य संघको समेत सहकार्यमा सुरु भएको दर्ता तथा नवीकरण अभियान आगामी चैत्र मसान्तसम्म संचालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले जानकारी दिनुभयो । उहाँले घुम्ति टोलीले नगरका सबै वडामा रहेका व्यवसायीको कार्यस्थलमामा पुगेर दर्ता तथा नवीकरण गर्ने बताउनुभयो ।व्यवसाय दर्ताको लागि नगरपालिकाले यसअघि नै सूचना गरेको थियो । यसको लागि व्यवसायीको पासपोर्ट साईजको फोटो २ थान, साना तथा घरेलु उद्योगबाट प्राप्त व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, घर भाडा लिई व्यवसाय गर्नेको हकमा घरभाडा सम्झौता पत्रको प्रतिलिप र निजगढ नगरपालिकामा दर्ता गरिएको हकमा व्यवसाय दर्ता प्रमाण पत्र जस्ता कागजात हुनुपर्ने जनाइएको छ ।टोलीले कार्यालयले २०७९ चैत्र मसान्तभित्र व्यवसाय दर्ता तथा नविकरण गर्दा १ पटकका लागि जरिवाना रकम मिनाहा गरिनेसमेत जनाएको छ ।कार्यस्थलमै आएर सुविधा दिएपछि व्यवसायीहरु लाभान्वित बनेको निजगढ ९ शहीद चोकका व्यवसायी शंकर तामाङले बताउनुभएको छ । अर्का व्यवसायी किशोर नेपालले भने आर्थिक मारमा रहेका उद्योगीलाई नगरले करमात्र लिनुभन्दा उनीहरुको हकहितमा पनि काम गर्नुपर्ने बताउनुभएको छ ।घुम्ति टोलीमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रशासकीय अधिकृत निरौला, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।



















