पुष्पराज खतिवडा

मनहर्वा, १९ साउन–  जीतपुरसिमरा उपमहानगरपालिका– १८ बडहर्वाका ३० बर्षिय राजु खड्का वैदेशिक रोजगारीको लागि २०७२ साल बैशाखमा मलेशियातर्फ लाग्दा छोरी दुर्गा ६ महिनाकीमात्रै थिइन ।

पैसा कमाउला र परिवारलाई खुसी पारौला भनेर विदेश पुगेका राजुको गत असार ३१ गते मृत्यु भयो । मृत्युसंगै राजुको सपना पनि विदेशमै अस्तायो । घरपरिवारमा अहिले दुःखको अध्यारो छाएको छ । शव नेपाल ल्याउन नसकेर परिवारका सदस्य र आफन्त यतिबेला विचलित छन ।

राजुको शव हाल मलेशियास्थित काजन अस्पतालमा छ । परिवारले राजुको शवसमेत नेपाल ल्याउन सकेको छैन । राजुका आफन्तले शव झिकाइ दिन धेरै ठाउँमा हारगुहार गरिसके तर अहिलेसम्म कुनै उपाय लागेको छैन । आर्थिक अवस्थासंगै सामाजिक पहुँचसमेत कमजोर भएका कारण आफनै खर्चमा शव नेपाल ल्याउन सक्ने अवस्था नभएपछि खडका परिवारको थप बिचल्ली भएको स्थानीय शान्ता देवकोटाले बताउनभुयो ।

विदेशमा बस्दा पनि राजुले धेरै कठिनाइ र अप्ठ्यारोको सामना परेको थियो । काठामाण्डौंको शान्तिनगरमा रहेको भण्डारी ओभरसिजमार्फत विदेश पुगेका उनले तोकिएअनुसारको काम र दाम पनि पाउन सकेनन । एउटै कम्पनीमा ३ बर्ष काम गरेपछि घर फर्कने समय नजिकँदै गर्दा साथीहरुको सल्लाहमा भागेर अन्यत्रै काम थालेका थिए राजुले ।

कम्पनीबाट पाएको थोरै तलब खानलाउनमै सकिन्थ्यो । आम्दानी राम्रो नहुदा चाहेर पनि उनले घरपरिवारलाई सहयोग गर्न सकेका थिएनन । जस्ले गर्र्दा परिवारका सदस्यलाई खुसी र सुखी बनाउने उनको सपना पुरा हुन सकेको थिएन । तर पनि त्यहि सपना साकार बनाउने लालसामा कम्पनी बदलेर राजु मरुभुमीमा अझै पनि पसिना बगाउदै थिए । परिवारका सदस्यहरु पनि अब राम्रै होला भन्ने आशामा खुसी हुदै थिए । तर उनको मृत्युसंगै खड्का परिवारको सपना सँधैका लागि अधुरो बनेको छ ।
गत असार २१ गते साथीहरुसंगै कम्पनीको आवासमा हरियो मकै पोलेर खाने योजनामा जुट्ेका थिए राजु । पेट्रोल हालेर दाउरा बाल्नमात्र के लागेका थिए, राजुको शरिरमा आगो सल्कियो । गम्भिर घाइते बने । ‘साथीहरुको सहयोगमा तत्कालै नजिकैको अस्पताल पुर्याइएछ, मृतक राजुकी पत्नी गिताले भन्नुभयो, तर डाक्टरले पनि बचाउन सकेनन ।’ ‘उपचारका क्रममा १० दिनपछि अस्पतालमै राजुको मृत्यु भएको खबर आयो ।’

हाल मलेशियामा रहेका निजगढ सिंगौलका रामशरण नाम गरेका साथीले फोनबाट दिएको जानकारी उद्धित गर्दै गिताले बताउनुभयो । ‘आशा र भरोसाको दियो नै निभ्यो, उहाँले भन्नुभयो, खबर आएको दिनदेखि नै सन्सार अध्यारो भए जस्तो लागिरन्छ ।’ न भोक छ न प्यास नै, उहाँले भन्नुभयो, रातमा पनि राम्ररी निधाउन सकिएको छैन ।’ ‘नहुनु थियो भयो, उहाँले भन्नुभयो, मन बुझाएर बस्न पनि सकिन्थ्यो होला तर शव ल्याउन नसकेर अन्तिम पटक मुहार हेर्ने आशा पनि पुरा गर्न सकिएन ।’ अब घरसम्म शव ल्याउन कसैले सहयोग गरिदिए हुन्थ्यो ।’ श्रीमति गिताले पिडा सुनाउनुभयो ।

राजुको शव नेपाल ल्याउने भन्ने कुरा खडका परिवारको लागि अर्को ठुलो समस्याको रुपमा रहेको छ । जलेर घाइते हुँदा अस्पतालमा उपचार खर्च र शव भण्डारण बापतको शुल्कसमेत गरी २२ हजार रियाल अर्थात करिब सात लाख नेपाली रुपैयाँ बुझाउनु पर्ने हुन्छ । शव निकालेर नेपाल ल्याउदा थप दुई÷तीन लाख अझै खर्च लाग्न सक्छ । दैनिक ज्यालाबोनी गरेर हातमुख जोडदै आएको खडका परिवारमा यति ठुलो रकम जुटाउन सक्ने सामथ्र्य छैन ।

पैसा नभएर शव झिकाउन नसकेको र आफुहरुको बिचल्ली भएकोे गिताले सुनाउनुभयो । ज्यालाबनी गरेर दैनिक हातमुख जोड्दै आएको खड्का परिवारमा दशलाख रकममात्र निकाल्न पनि भएभरको सबै जायजेथा बेच्नु पर्ने हुन्छ ।
गिताले १६ बर्षकै उमेरमा राजुसँग विवाह गर्नुभएको थियो । घरमा ७ वर्षकी एउटी सानी छोरीमात्रै छिन ।

राजुका बुबा मान्सा र दाजु गणेश अलग्गै बस्नुहुन्छ । डेढ कठ्ठा ऐलानी जमिनभित्र दाजुभाइले छुट्टाछुट्टै घर बनाएर बस्दै आएका छन् ।
मृतक राजुका दाजु गणेश खड्काले धेरै ठाउँमा भाइको शव झिकाइ दिन सहयोगको लागि माग गरेको बताउनु भयो । सबैले आश्वासन मात्र दिएको तर कतैबाट पनि सहयोग नआएको उहाँले बताउनुभयो । ‘कतैबाट उपाय लागेको छैन, गरिबका सहारा भगवान हुन्छन् भन्थे, यो कुरामा पनि विश्वास लाग्न छोड्यो ।’ उहाँले भन्नुभयो । दाजु गणेशले पनि एकपटक अनुहार हेरेर आफ्नै हातले राजुको अन्तिम संस्कार गर्ने धोको रहेको सुनाउनुभयो ।

तीन दिदिबहिनी र दुई भाइ मध्येको कान्छो राजु ३ बर्षको हुँदा आमा पनि बित्नु भएको थियो । त्यसपछि आफ्ैंसँग हुर्काएको भाइको परदेशमा भएको मृत्यु र शव घरमा ल्याउन नसकेर गणेश विछिप्ति जस्तै बन्नुभएको छ । ‘शव विदेशमा छ, झिकाउन भनसुन र गुहार माग्ने बाहेक अरु कुनै उपाय छैन ।’ यस्तो अवस्थामा कसरी के गर्ने होला भनेर आफुहरुले सोच्न पनि नसकेको गणेशले सुनाउनुभयो ।

बुवा ७५ वर्षिय मान्सा क्षेत्री पनि घरमा विरामी अवस्थामा थाल परेर बस्नुभएको छ । मुटु सम्बन्धी रोगका कारण थला परेर अलिअली तग्रिनु थाल्नुभएका मान्सालाई छोरो विदेशमा बितेको जानकारी दिइएको छैन । यस्तो दुखको खबर सुन्नुपर्दा त्यस्तो अवस्थामा स्वास्थ्य झन बिग्रन सक्ने डरमा बुबालाई घटनाको जानकारी नगराइएको गणेशले सुनाउनुभयो ।

Leave a Reply