जियालाल चौधरी
कोल्हबी – तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ मा रु. ५३ करोडभन्दा बढीको कारोबार गरेको जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारण सभामा शनिबार प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सो अवधिमा संस्थाको कुल कारोबार रु. ५३ करोड १० लाख ११ हजार ३२७ रुपैयाँ ५२ पैसा पुगेको जानकारी दिइएको हो ।
कोल्हबीस्थित तामागढी पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा संस्थाको आर्थिक अवस्था, विगतका गतिविधि तथा आगामी योजनाबारे छलफल गरिएको थियो । साधारण सभा संस्थाका अध्यक्ष पदमजङ्ग प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष प्याकुरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेर संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले सदस्यको आवश्यकता र संस्थाको उद्देश्यअनुसार बचत, तथा ऋण सेवासहितका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका आर्थिक प्रतिवेदन विनोदकुमार खनालले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷८३ मा संस्थाले रु. ५३ करोड १० लाख ११ हजार ३२७ रुपैयाँ ५२ पैसाको कुल कारोबार गरेको उल्लेख गरिएको छ । सहकारीले सदस्यलाई नियमित बचत गर्न प्रोत्साहित गर्दै आवश्यकताअनुसार ऋण सुविधा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
सहकारीको कारोबार विस्तारसँगै सदस्यको वित्तीय अनुशासन र ऋणको सदुपयोगलाई प्राथमिकतामा राख्नुपर्नेमा साधारण सभामा सहभागी वक्ताहरूले जोड दिएका थिए । सहकारी सदस्यहरूको साझा संस्था भएकाले यसको आर्थिक स्थायित्वका लागि सदस्य, सञ्चालक र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
साधारण सभामा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख बुद्धिमान चोङवाङ, कोल्हबी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रसाई, कोल्हबी नगरपालिका– १ का वडा अध्यक्ष राजहरण चौधरी तथा वडा नं. ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनालीलगायतको सहभागिता थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख रामप्रसाद चौधरीले सहकारीबाट लिएको ऋण उत्पादन तथा आयआर्जन बढाउने क्षेत्रमा प्रयोग गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो । जुन प्रयोजनका लागि ऋण लिइएको हो, त्यसैअनुसार रकमको सदुपयोग गर्न सके सदस्यको आर्थिक अवस्था सुधार हुनुका साथै ऋण भुक्तानीमा सहजता आउने उहाँको भनाइ थियो ।
उहाँले सहकारी संस्थाको विकासमा सदस्यको भूमिका महत्वपूर्ण हुने भन्दै नियमित बचत गर्ने, समयमै ऋणको किस्ता तिर्ने र संस्थासँग पारदर्शी कारोबार गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरसहितका वक्ताहरूले सहकारीले बदलिँदो आर्थिक परिस्थितिअनुसार आफ्ना सेवा र कार्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । बचत तथा ऋण कारोबारसँगै सदस्यमा वित्तीय चेतना अभिवृद्धि गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ सहकारी केन्द्रित हुनुपर्ने उनीहरूको धारणा थियो ।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो । उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल खुत्रुक्क बचतकर्ता, अनुशासित बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको संस्थाले जनाएको छ । बालबालिकामा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बाल खुत्रुके बचत कार्यक्रम प्रभावकारी हुने संस्थाको विश्वास छ । नियमित बचत गर्ने तथा ऋणको जिम्मेवार रूपमा उपयोग र भुक्तानी गर्ने सदस्यलाई सम्मान गर्दा अन्य सदस्यसमेत वित्तीय अनुशासनतर्फ प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा हिरामणी खनाल, सत्येन्द्र ठाकुर, युवराज बोहरा तथा नगर प्रमुख रामप्रसाद चौधरीले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले सहकारीको कारोबार बढ्नु सकारात्मक भए पनि त्यससँगै संस्थाको वित्तीय सुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । संस्थाकी कालिका भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक बासुदेव रिमालले गर्नुभएको थियो ।
१८औँ वार्षिक साधारण सभाले संस्थाको अघिल्लो वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा सदस्य सेवा विस्तार, वित्तीय अनुशासन कायम, बचत तथा ऋण कारोबारलाई व्यवस्थित बनाउने र संस्थागत विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कुल कारोबार रु. ५३ करोडभन्दा माथि पुगेको तथ्याङ्कले संस्थाको वित्तीय गतिविधिको आकारसमेत बढ्दै गएको देखाएको छ ।

















