कलैया – लगातारको वर्षासँगै आएको हावाहुरीले बाराको कलैया उपमहानगरपालिका– १७, ब्रह्मपुरीमा करिब पाँच बिघा क्षेत्रफलमा लगाइएको उखुबालीमा क्षति पु¥याएको छ । हावाहुरीका कारण हुर्कदै गरेका उखुका बोट जमिनमा ढलेका छन् भने कतिपय बोट भाँचिएर भूइमा लडेका छन् । ब्रह्मपुरी टोलका किसानहरूले ठूलो परिमाणमा उखुबालीमा क्षति पुगेको बताएका छन् । पीडित किसान सोनालाल महतोका अनुसार गाउँका एक दर्जनभन्दा बढी किसानको उखुबाली प्रभावित भएको छ । किसानहरूले ब्रह्मपुरीमा मात्रै करिब पाँच बिघा उखुबालीमा क्षति पुगेको दाबी गरेका छन् ।
ब्रह्मपुरीका किसानले परम्परागत खेतीसँगै रिङपिट तथा टिन्चर विधिबाट उखु उत्पादन गर्दै आएका छन् । एउटै खेतबाट करिब पाँच वर्षसम्म उत्पादन लिन सकिने भएकाले किसानले यो प्रविधि अपनाउँदै आएका छन । तर आधुनिक प्रविधिमा लगानी गरी उत्पादन बढाउने प्रयास गरिरहेका किसानको बाली नै हावाहुरीले ढलाएपछि लगानी जोखिममा परेको छ ।
ढलेको उखुलाई पुनः ठाडो पार्न थप श्रम र खर्च आवश्यक पर्ने तथा भाँचिएका बोटको तौल कम हुने र किसानले नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको विद्यानगरका अर्का किसान इन्द्रदेव कुशवाहाले बताउनुभयो । उहाँले किसानहरूलाई क्षति भएको बालीको विवरण संकलन गरेर सरकारले राहात उललब्ध गराउनुपर्ने बताउनुभयो ।
















