वीरगञ्ज । वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ कात्तिक १२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सनलाइट सेकेन्डरी स्कुल, विद्यासदन सेकेन्डरी स्कुल र न्यु वेभ एकेडेमीको संयुक्त आयोजनामा हुने प्रतियोगिता वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न १६ विद्यालयका विद्यार्थी खेलाडी सहभागी हुनेछन्।

प्रतियोगितामा विद्यासदन, मिनी ल्यान्ड, डीपीएस, पिस जोन, लिटिल फ्लावर, कादम्बरी एकेडेमी, सनलाइट, जीएचपी, ज्ञानोदय, जीवन ज्योति, ओम नेसनल, लिटिल एन्जल्स, न्यु वेभ, सूर्योदय, माउन्ट मकालु र मनकामना सेकेन्डरी स्कुल सहभागी हुनेछन्।

प्रतियोगिताका संयोजक लालबहादुर गुरुङका अनुसार प्रतियोगिताको तयारी अघि बढाइएको छ। विद्यार्थीमा क्रिकेटप्रतिको रुचि बढाउने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा विद्यालयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

आयोजकले प्रतियोगिताले विद्यार्थीमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्नुका साथै विद्यालयहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

Leave a Reply