सिमरा,होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिमरामा सञ्चालित ५ दिने ‘कस्टमर केयर सर्भिस’ तालिम शनिवार सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशद्वारा आयोजित तालिम बाराको सिमरामा सम्पन्न भएको हो ।नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको समापन समारोहमा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र मधेस प्रदेश अन्तरगतका विद्यालयहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका ३३ जना सहभागी प्रशिक्षार्थीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन भइरहेको छ । उक्त परियोजनामा होटल तथा पर्यटन क्षेक्रमा दक्ष जनशत्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । होटल तथा पर्यटन क्षेत्रका लागि मात्र नभएर जुनसुकै क्षेत्रका लागि पनि तालिम अत्यन्त फलदायी भएको तालिमका प्रशिक्षार्थीहरुले बताएका छन् ।



















