काठमाडौँ – एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ । मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो । यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ ।
एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ । आयोजक बंगालादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनोट भइसकेका छन् । एसीसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनोट हुने व्यवस्था छ । आजको जितसँगै नेपाल पनि एसिया कप खेल्ने भएको हो । नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४९.२ ओभरमा सबै विकेट गुमाएर २६८ रनमा समेटियो ।
यूएईका लागि राहुल चोप्राले शतक बनाए। उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा शतक बनाएका हुन् ।
त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए ।
यसअघि नेपालले आसिफ शेखको शतकका नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आशिफले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०४ रन बनाएका थिए । त्यस्तै, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात, करण केसी र ललित राजवंशीले एक–एक रन बनाए । यूएईका लागि इब्रार अह्मदले चार, खुजैम तनवीरले दुई, हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिएका थिए ।

















