काठमाण्डौ – नेपाल भलिबल लिग (एनभीएल) मा मधेश वारियर्सले पहिलो जीत हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेशले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० सोझो सेटमा हरायो । मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ ले जित्यो । मधेश यसअघि लगातार तीन खेलमा पराजित भएको थियो । यस्तै खप्तडको यो लगातार तेस्रो हार हो ।
प्रतियोगितामा अहिले बेलुकी ७ बजे सगरमाथा स्म्यासर्स र काठमाण्डौ रेड्स खेल्दैछन् । ६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।

















