दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय, कलैया बाराको नवौं वार्षिकोत्सव कार्यक्रम सोमवार एक समारोहका साथ सम्पन्न भएको छ । ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कार्यालयका जिल्ला संयोजक अरविन्दकुमार यादव, दर्ता शाखा प्रमुख शक्तिकुमार चौधरी, भागिरथी खनाल, तथा कर्मचारीहरू सरस्वती उप्रेती, निलम घिमिरे, आरती कुमारी लगायतको उपस्थिति रहेको थियो । साथै, बाराका सबै स्थानीय तहका वडास्तरीय दर्ता सहयोगीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।सो अवसरमा जिल्ला संयोजक यादवले स्वास्थ्य समस्याबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरणका लागि स्वास्थ्य बीमा कार्यक्रम अत्यन्त प्रभावकारी भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार, प्रत्येक वर्ष नियमित सदस्यहरूको संख्या वृद्धि हुँदै गएको छ । “यो नेपाल सरकारको हातेमालो कार्यक्रम हो, जहाँ एक नेपालीले अर्का नेपालीलाई सहयोग गर्ने अवसर पाउँछन्,” उहाँले भन्नुभयो ।

हाल बारा जिल्लामा नियमित सदस्यको संख्या १२ प्रतिशत रहेको जानकारी दिँदै, आगामी आर्थिक वर्ष २०८२÷८३ सम्म यसलाई २० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको उहाँले बताउनुभयो । विशेष गरी जेष्ठ नागरिक, पूर्ण अपांग, एचआईभी संक्रमित, महिला स्वयंसेविका जस्ता लक्षित वर्गका व्यक्तिहरूलाई स्वास्थ्य बीमाबाट थप उपचार सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

Leave a Reply