फाईल तस्विर

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा कमसल सामग्री प्रयोग भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले अध्ययन सुरु गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यससम्बन्धी कागजात उपसमितिलाई बुझाएका छन्।

बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको छ। उपसमितिका एक सदस्यका अनुसार प्राप्त कागजात एक बोरा रहेको र सचिवालयमै राखेर अध्ययन गरिनेछ।

गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए।

निर्वाचन प्रहरीको पोसाकका लागि हिमाली क्षेत्रमा प्रतिव्यक्ति ११ हजार ५००, पहाडी क्षेत्रमा ७ हजार ९४५ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ छुट्याइएको थियो। पोसाक शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा भएको विवरण छ।

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले गत १६ असोजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ।

Leave a Reply