कलैया,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको तदर्थ समिति भंग गरेर नयाँ समिति बनाउन जिम्मेवारी तोकेको छ ।बाराको पार्टी संगठन भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट नेता खटाइएको छ । सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई बाराको नयाँ समिति बनाउन जिम्मेवारी दिइएको हो ।
संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले उक्त संगठनका सदस्य समेत रहेका तिमल्सेनालाई बाराको वडादेखि जिल्ला तहसम्मको अधिवेशन गराउन जिम्मेवारी दिनुभएको हो । जेठ ९ गते जिल्लाको विस्तारित बैठक डाकेर नयाँ समिति बनाउन प्रक्रिया सुरु हुने तिमल्सेनाले जानकारी गराउनुभयो । बारामा देखिएको संगठनको समस्यामा छलफल गर्न कलैयामा विस्तारित बैठक बोलाइएको हो ।
बाराको पार्टी संगठनमा विवाद भएपछि पार्टीले जिल्ला समिति भंग गर्नुको साथै गत आमनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाइ हराउन अन्तर्घात गरेको आरोपमा जिल्ला सभापती चन्दन स्वर्णकारको पार्टी सदस्यतासमेत निलम्बन गरेको छ ।बारा जिल्ला संगठन निर्माण विशेष समितिको संयोजक कामिनी चौधरीले सदस्यता वितरण बाहेक सबै कार्य रोक्न निर्देशन दिनुभएको थियो ।


















