सिमरा,जीतपुरसिमरा उपहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव शान्तिराज प्रसाईले दिएको तेलको कुपन च्यातेर विवादमा पर्नुभएकी इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा वाइवाको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।डिएसपी वाइवाले जीतपुरसिमराका प्रशासकीय अधिकृत प्रसाईंसंग तेलको कुपनको विषयमा भनाभन भएपछि विवाद तानिनुभएको थियो ।
नायब उपरीक्षक वाइवाको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक वेद जोशी आउनुहुने भएको छ । वाइवा गत पुस महीनामा मात्रै इप्रका सिमरामा हाजिर हुनुभएको थियो ।अधिकृत प्रसाईंसँग तेलको कुपनमा भएको विवाद जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो । सोही विषयमा छानबिनका लागि उहाँलाई काठमाडौंबाट बोलाहट भएको प्रहरी स्रोतले जनाएको छ ।इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उपमहानगरपालिकाबाट सय लिटरका दरले यसअघि ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिनुभएकी डिएसपी वाइवालाई प्रमुख प्रशासकीय अधिकृत प्रसाईले गत जेष्ठ १८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि आक्रोशित हुनुभएको थियो । डीएसपी वाइवाले कुपन च्यातेर आक्रोश पोखेको बताइएको छ । वाइवाले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिइसक्नुभएको बताइएको छ । उपमहानगरले प्रहरीलाई महिनामा सय लिटरका दरले मात्रै इन्धन दिने गरेको थियो ।
डीएसपी वाइवाले अभद्र व्यवहार गरेको भन्दै उपमहानगरपालिकाले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही उजुरीमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले वाइवालाई हेडक्वाटर बोलाएको बताइएको छ ।केही विषयमा छानबिन गर्नुपर्ने कारण वाइवालाई प्रहरी प्रधान कार्यालय झिकाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जनाउनुभयो । बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले पनि सोधपुछका निम्ति डिएसपी वाइवालाई प्रहरी प्रधान कार्यालयले काठमाण्डौं बोलाएको जानकारी दिनुभएको छ ।

















