वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यानले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।
बिहीबार दिउँसो करिब १२ः०५ बजे ४ नम्बर पुल नजिक वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा।०१–००६ ख ९८३६ नम्बरको ईभी भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा।०२–०३७ प ८५९८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटी चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ६० वर्षीय निरबहादुर वाइबा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। चिकित्सकले ईसीजी परीक्षणपछि दिउँसो १ः२१ बजे उनलाई मृत घोषणा गरेका थिए।
स्कुटीको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइली माया तामाङ पनि दुर्घटनामा घाइते भएकी छन्। उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ। मध्यम अवस्था रहेकी तामाङको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो।
प्रहरीले ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभारा निवासी ५० वर्षीय रमेश प्रसाईलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
















