जीतपुर,जलविद्युत र सौर्य उर्जासहितको नविकरणीय उर्जा उत्पादन गर्दैआएको ‘अपी पावर कम्पनी लिमिटेड’ ले बारामा रु ४८ करोडको सोलार प्लान्ट जडान गर्नेभएको छ ।कम्पनीले जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित नेपाल विद्युत प्राधिकरणको ११ केभिए सबस्टेशनभन्दा पूर्वमा उक्त प्लान्ट स्थापना गर्न लागेको जनाएकोछ । ८ मेगावाट क्षमताको उक्त प्लान्ट निर्माणको लागि १२ बिगाहा क्षेत्रफल जग्गा लिजमा लिएर कामअघि बढाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक सन्जीव न्यौपोनेका अनुसार यो परियोजनाको लागि कम्पनीले रु ४८ करोड लगानी गर्नेछ । उक्त सोलार प्लान्ट वीरगञ्जदेखि ९ किलोमिटर उत्तर र सिमरा विमानस्थलबाट ११ किलोमिटर दक्षिणमा पर्छ ।
प्लान्ट निर्माणको लागि पर्साको वीरगञ्ज महानगरपालिकाको केही वडा र जीतपुरसिमराको केही वडाको जग्गा अनुगमन गरी निर्माण स्थलको लागि भुलहीको जग्गा छनौट गरिएको हो । ‘बाँझो र खेतीयोग्य नभएको जग्गा खोज्दै थियौं,त्यस्तै जग्गा पाइयो’,कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो, ‘प्लान्ट सञ्चालनमा आएपछि करिब २० जनाभन्दा बढिले रोजगारी प्राप्त गर्नेछन् ।’
अगामी ६ महीनाभित्रै प्लान्टको काम सकेर नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको ग्रिडमा जोड्ने लक्ष्य लिइएको अपी पावर कम्पनीकी अध्यक्ष सिर्जना खड्काले बताउनुभयो । अध्यक्ष खडकाले यो परियोजनाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका विद्युत उपभोक्ताहरुको विद्युत अभावको र ट्रिपिङको समस्यामा राहत पुग्ने बताउनुभयो ।
मधेस प्रदेशमा चौथो सौर्य उर्जा परियोजनाकोरुपमा निर्माण भइरहेको यो परियोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको जनाइएको छ ।
यसअघि नै अपी पावरको लगानीमा निर्मित सिमराको १ मेगावाट क्षमताको सोलार प्लान्ट दुई वर्षअघिदेखि सञ्चालनमा छ । सिमराको प्लान्टबाट उत्पादित उर्जा परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।कम्पनीले रु ८ करोड ५० लाखमा सिमरामार धनुषाको ढल्केवरमा १ मेगावट तथा रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताको प्लान्ट समेत सञ्चालन गरिरहेको छ ।त्यसैगरी अपी पावर कम्पनीले हालसम्म सुुदुरपश्चिममा ८.५ मेगावाटको नौगढ गाड, ८ मेगावाटको अपर नौगढ गाड, ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत परियोजना र सौर्य उर्जा परियोजनासमेतबाट कुल ६२.५ मेगावाट नविकरणीय उर्जा उत्पादन गरिरहेको छ ।

















