सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ४९ वटा संस्थागत विद्यालय (बोर्डिङ्ग स्कुल) को स्तर निर्धारण गरेको छ ।पमहानगरपालिकाको शिक्षा शाखाले गरेको मूल्याङ्कनको आधारमा विद्यालयहरुको वर्ग निर्धारण गरिएको हो ।
उपमहानगरपालिकाले विद्यालयको भौतिक संरचना, कक्षाकोठाको अवस्था, खेलमैदान, शौचालय, खानेपानी, सुरक्षा मापदण्ड, प्रयोगशाला लगायतको भौतिक अवस्था र सुविधालाई आधार मानेर वर्गीकरण गरिएको शिक्षा शाखा अधिकृत हरिष भट्टले जानकारी दिनुभयो ।
अनुगमन टोलीले विभिन्न चरणमा विद्यालय निरीक्षण गरी प्राप्त विवरणका आधारमा वर्ग निर्धारण गरेको बताइएको छ ।वर्गीकरणअनुसार वडा नम्बर ४ स्थित सेन्ट अल्फान्सस् स्कुल मात्रै ‘ख’ वर्गमा परेको छ भने बाँकी सबै ४८ वटा विद्यालय ‘ग’ वर्गमा परेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले न्यूनतम मापदण्ड पूरा गर्न नसकेका विद्यालयहरुलाई आवश्यक सुधार गर्न निर्देशन समेत दिएको अधिकृत भट्टले बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनाको अवस्था सुधार नगरे वर्गीकरण गरेको वर्गभन्दा तल झार्न पनि सकिने र सुधार गर्नेलाई अपग्रड गर्न पनि सकिने जानकारी दिनुभयो ।
यो उपमहानगरपालिकाको पहिलो अभ्यास भएकाले यसमा रहेको कमिकमजोरीलाई मध्यनजर गरी अघि बढ्ने पनि बताउनुभयो । शिक्षा शाखाका अनुसार संस्थागत विद्यालयहरुको सेवा, सुविधा र पूर्वाधारलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन र शिक्षा शुल्कमा एकरुपता ल्याउँन वर्गीकरण गरिएको हो ।आगामी दिनमा विद्यालयहरुले भौतिक तथा शैक्षिक सुधार नगरे कारबाही प्रक्रिया समेत अघि बढाइने शिक्षा शाखा अधिकृत हरिष भट्टले जानकारी दिनुभयो । उपमहानगरपालिकाले वर्गीकरणपछि विद्यालयहरुलाई आवश्यक सुझाव तथा सुधारका बुँदाहरु उपलब्ध गराउने तयारी गरेको छ ।
साथै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नियमित अनुगमनलाई निरन्तरता दिइने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।



















