निजगढ,निजगढ ५ स्थित श्री जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूहमा सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गर्न १ हप्ताको समय थप गरिएको छ ।गत बैशाख १२ गते भएको साधारण सभामा सहमति हुन नसकेपछि सहमतिको आधारमा समूहको नयाँ नेतृत्व चयन गरिने भन्दै पहिलो पटकको लागि १ हप्ताको समय थपिएको थियो ।

साधारण सभामा स्थानीय राजनीतिक दलमा आवद्ध उपभोक्ताहरुबीच कार्यसमितिको पदाधिकारी चयनमा सहमति हुन नसकेपछि नयाँ कार्यसमिति चयन प्रक्रिया रोकिएको थियो । समूहको नयाँ कार्यसमिति सहमतिकै आधारमा चयन गर्न १ साताको लागि समय थप गरिएको निर्वाचन समितिका सदस्य एंव निजगढ फेकोफनका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले सहमतिको लागि अधिकतम प्रयास गर्ने अन्यथा मतदान प्रक्रियाबाट भएपनि कार्यसमितिका पदाधिकारीहरुको चयन गरिने छ ।

१७ सदस्यीय कार्यसमितिमा टोल भेलाबाट चुनिने ६ जना सदस्यहरु भने यसअघि नै सर्वसम्मत चुनिएका छन ।
नयाँ कार्यसमिति चयन गर्न सब डिभिजन वन कार्यालय तामागढीका वन अधिकृत राजकिशोर प्रसाद उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निजगढ नगरपालिका वन तथा वातावण शाखाकी अधिकृत पूर्णीमा तिमल्सिना र निजगढ फेकोफनका अध्यक्ष थापा समितिको सदस्यमा रहनुभएको छ ।

Leave a Reply