वीरगंज, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी एक महिला मजदुरको मृत्यु भएको छ ।

पर्सा प्रहरीले जनाएको अनुसार, मृत्यु हुनेमा ४५ वर्षीया शोशिला देवी हजरा रहेकी छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा १३ दिनसम्म उपचारपछि शुक्रबार उनको निधन भएको हो । आगलागीका क्रममा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो ।

गत भदौ २४ गते भएको सो घटनामा जेनजी समूहले रुंगटाको घरमा आगजनी गर्दा सम्पूर्ण घर ध्वस्त भएको थियो । आगलागीका बेला घरभित्र रहेका मजदुरहरू फसेका थिए । स्थानीयको सहयोगमा अधिकांश मजदुरलाई सकुशल बाहिर निकालिए पनि हजरा र अर्का एक भारतीय मजदुरलाई उद्धारमा ढिलाइ भएको थियो ।

प्रहरीका अनुसार, हजरा घरको दोस्रो तल्लामा फसेकी थिइन् । सुरुमा वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ रेफर गरिएको थियो । तर निरन्तर उपचारका बाबजुद उनको जीवन बचाउन सकिएन ।

यसै घटनामा घाइते भएका भारतको बिहार, सुगौलीका १८ वर्षीय विनय यादव पनि हाल कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन् । उनको शरीरको ५० प्रतिशत भाग जलेको भए पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

आगजनीका क्रममा रुंगटाको घर मात्र नभई वरिपरिका अन्य चार घरमा समेत तोडफोड र लुटपाट भएको कांग्रेस नेता रुंगटाले बताएका छन् ।

Leave a Reply